कांग्रेसले बोलायो स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक

काठमाडौं। चैत २९, नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक बोलाएको छ।
बैशाख २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचन तह निर्वाचन केन्द्रीय परिचालन सम्पूर्ण सदस्यलाई बैठकमा बोलाइएको छ ।
कांग्रेस पाँच दल मिलेर एमालेविरुद्ध निर्वाचनमा जाने भएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको थियो।
उक्त निर्णयप्रति शेखर कोइराला समूहका नेताहरुले असन्तुष्ट जनाएका छन्। कतिपय स्थानीय तहमा भने गठबन्धनभित्रका दलले उम्मेदवार घोषणा गरेका छन्।
सोमबारको बैठकमा भागबण्डामा सहमति जुट्न नसकेपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपील जारी गर्दै गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन अपील गरेका थिए। प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्नेले यसपटक मत खसाल्न पाउने भएका छन्। यो व्यवस्था पहिलो पटक गरिएको निर्वाचन आयोगले जनाएको छ।