कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं। चैत ३०, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा चुनावी घोषणापत्रबारे छलफल हुने पौडेलले बताए। कांग्रेसले महामन्त्री गगन थापा संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति बनाएको छ।

२८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई आज बैठकमा छलफल गरी अन्तिम रुप दिइनेछ।

यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने भएको छ। हिजो बेलुका बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले स्थानीय तहको आसन्न निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन्।

महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको छ।

सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ। यसैबीच कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पर्सि वैशाख २ गते शुक्रबारका लागि बोलाएको छ।

मुख्यसचिव पौडेलका अनुसार चुनाव आउन अब ३० दिन मात्रै बाँकी रहेको बेला स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाइएको हो।

 

प्रकाशित : 13 April, 2022

प्रतिक्रिया दिनुहोस्