सशस्त्रका सबै डिआइजी शहरतिर
काठमाडौं। चैत ३०, चार वर्षे कार्यकाल पूरा गरेर आइजी शैलेन्द्र खनालले अस्ति अवकाश लिएसँगै सशस्त्र प्रहरी बल नेतृत्वबिहीन भएको छ ।
खनालको अवकाश र नयाँ आइजीमा हालका निमित्त पुष्पराम केसीलाई कन्फर्म नगरिएकाले चुनावी सुरक्षाको बागडोर सम्हाल्ने जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी चुनावको मुखैमा नेतृत्वविहीन भएको हो ।
सशस्त्रमा हालका दुई एआइजीमध्ये एक जना आइजी हुने हो । दुई जनाको दरबन्दी रहेको एआइजीमा पुष्पराम केसी र रामशरण पौडेल छन् । खनालकै ब्याजी उनीहरु दुवै जनाको यहि बैशाख तेस्रो साता कार्यकाल समाप्त हुँदैछ ।
सरकारले उनीहरुमध्ये एक जनालाई अवकाशअघि नै छोटो समयका लागि आइजी नियुक्त गर्छ वा डिआइजीबाट बढुवा भएर आउनेलाई नेतृत्वमा ल्याउँछ भन्ने प्रष्ट भैसकेको छैन ।
सरकारले आजभोलिमै आइजी नियुक्त गर्यो भने केसीले बैशाख १८ गतेसम्मको लागि बढीमा २१ दिन सशस्त्रको नेतृत्व सम्हाल्नेछन् ।
यता,आइजी खनालको बिदाइ कार्यक्रमका लागि काठमाडौँ बोलाइएका प्रदेश प्रमुखहरु अझै कार्यक्षेत्रमा फर्किएका छैनन् । नयाँ आइजीलाई स्वागतसहित र बधाई दिएरमात्र फर्किने योजनाका साथ उनीहरु काठमाडौँमै बसेको बताइन्छ।
सशस्त्र बलमा हाल १६ जना डिआइजीको दरबन्दी छ । तर, सशस्त्रको सुर्खेत कार्यालयका डिआइजी अभि खत्रीबाहेक सबैलाई काजमा पठाइएका हुन् । हालै बढुवा भएर आएका लक्ष्मण सिंह, बिदुर खड्का र प्रदिप पाललाई पनि दरबन्दी तोकेर काजमै खटाइएको छ ।