सभापति देउवाको छायामा कांग्रेस

सहयात्रा टिभी

काठमाडौं। वैशाख २, नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको चार महिना बितेको छ।

दिन कस्तो हुन्छ भन्ने संकेत बिहानीले गर्छ भनेझै सभापति देउवाको यो चार महिनाको गतिविधि हेर्दा अघिल्लो कार्यकाल भन्दा पृथक नहुने स्पष्ट छ। अघिल्लो कार्यकालमा सभापति देउवाले विधान बमोजिम गठन गर्नुपर्ने पार्टीका कुनै पनि संगठनलाई पूर्णता दिएका थिएनन्।

विधान बमोजिम दुई महिना भित्र गर्नुपर्ने पदाधिकारीको चयन सभापति देउवाले २६ महिनापछि गरेका थिए।

त्यतिबेला सभापति देउवाले विधानले निर्धारण गरेको चार वर्षको अवधि भित्र न केन्द्रीय कार्य समितिलाई पूर्णता दिए, न विभाग गठन गरे। उनले ढिलो गरी संसदीय समिति गठन गरे। तर, त्यसलाई पनि आफ्नो कार्यकालभर टिकाउन सकेनन्।

विधानमा तोकिएको चार वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म तन्काउँदा पनि सभापति देउवाले पार्टीका संगठनलाई पूर्णता दिन र भ्रातृ संगठनको अधिवेशन गराउन नसकेपछि चौतर्फी आलोचना भएको थियो।

पार्टी संचालन गर्न सभापति देउवा असक्षम भएको भन्दै इतर पक्षले देशव्यापी अभियान सुरु गरेको थियो। तर, १४ औं महाधिवेशनमा देउवा झन् धेरै मत ल्याएर सभापति पदमा निर्वाचित भए।

१३ औं महाधिवेशमा भन्दा १४ औं महाधिवेशनमा मत अन्तर अझ फराकिलो बन्यो। त्यति मात्रै होइन, सभापति देउवा १३ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीमा अल्पमतमा र केन्द्रीय समितिमा मुस्किलले बहुमतमा थिए।

तर, १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकरी एवं केन्द्रीय समितिमा करिब दुई तिहाई बहुमतको हैसियतमा पुगे।

 

प्रकाशित : 15 April, 2022

प्रतिक्रिया दिनुहोस्