आईपीएलः लखनऊले दियो मुम्बईलाई २०० रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४, इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनऊ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई २०० रनको लक्ष्य दिएको छ।

मुम्बईको ब्राबोन स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको हो।

लखनऊका लागि कप्तान केएल राहुलले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ५ छक्काको मद्दतमा १०३ रन बनाए। यस्तै मनिष पाण्डेले ३८, क्वीन्टन डी ककले २४, दीपक हुडाले १५ र मार्कुस स्टोनिसले १० रन बनाए।

बलिङतर्फ मुम्बईका जयदेव उनाड्कटले दुई तथा मुरुगन अश्विन र फेबियन एलनले एक–एक विकेट लिए।

जारी प्रतियोगितामा पाँच खेलमध्ये तीन खेलमा जित हात पार्दै ६ अंक जोडेको लखनऊ अंकतालिकाको पाँचौँ स्थानमा छ भने पाँच वटै खेलमा हार व्यहोरेको मुम्बई अंकतालिकाको पुछारमा छ।

 

प्रकाशित : 17 April, 2022

प्रतिक्रिया दिनुहोस्