विद्युतीय बसको परीक्षण गर्दै साझा यातायात

काठमाडौं। वैशाख ५, साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ ।
परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गरिने र त्यसपछि थप बस ल्याउने गरी तयारी भएको छ ।
केही दिन पहिले ल्याइएको तीन बसको पहिले साझा आफैँले परीक्षण गर्ने सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । उनका अनुसार यातायात व्यवस्था विभागले पनि सञ्चालन पहिले गर्नुपर्ने आवश्यक परीक्षण गर्नेछ ।
सरकारले कहाँ र कहिले रुट दिन्छ त्यसैका आधारमा बस सञ्चालन गरिने उनले बताए । उनले भने, “अहिले परीक्षणकै लागि नै सञ्चालन गरिनेछ ।”
साझाले हाल सञ्चालन गरिरहेका ठूला बसभन्दा विद्युतीय बस थोरै सानो रहेको कम्पनीले जनाएको छ । यो बसमा २६ सिट रहेको छ र क्षमता १६१ किलोवाटरआवर रहेको छ ।
अहिले बससँगै दुई चार्ज आएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए ।