सडकमा बिजुली गाडी बढ्दै, ८ महिनामै १३ सय ५७ वटा भित्रियो

सहयात्रा टिभी

काठमाडौं। वैशाख ५, केही हप्ता अगाडि नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा बिजुली गाडी खरिद गर्‍यो ।

नेपालमा बिजुली गाडीको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता गाडी भित्र्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती गाडी काठमाण्डौ उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो ।

बिजुली गाडी प्रयोग गर्दा बर्सेनि एक करोड रुपैयाँ बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः बिजुली गाडी प्रयोग गरून् भन्ने लक्ष्यका साथ प्राधिकरणले ती गाडीतर्फको यात्रा अगाडि बढाएको हो ।

प्राधिकरणले खरिद गरेको टाटा नेक्शन इभी एक पटक चार्ज गर्दा तीन सय १२ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ ।

काठमाण्डौ उपत्यकामा दुई सय १६ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । त्यो गाडीमा ३० दशमलव २ किलोवाट क्षमताको लिथियम आयन ब्याट्रीु प्रयोग भएको छ । भारतीय कम्पनी टाटाले उत्पादन गरेको त्यो गाडी नेपालको बाटो सुहाउँदो रहेको बताइन्छ ।

बिजुलीको आन्तरिक खपत बढाउनका लागि लागिपरेको प्राधिकरण आफैँले नमुनाका रूपमा बिजुली गाडी चलाउन लागेको हो । आउँदो मनसुनमा ठूलो मात्रामा बिजुली खेर जाने जोखिम उत्तिकै छ ।

नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म झन्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसलाई केही हदसम्म भए पनि घटाउने लक्ष्यका साथ सरकारले बिजुली गाडी प्रवर्द्धनमा विशेष चासोका साथ काम गरिरहेको छ ।

सडक विभागले पनि केही समयअघि बिजुली गाडी आयात गरेर प्रयोगमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि बिजुली गाडीको प्रयोग भइरहेको छ ।

 

प्रकाशित : 18 April, 2022

प्रतिक्रिया दिनुहोस्