यस वर्षको क्यान इन्फोटेक आजबाट सुरु हुँदै

काठमाडौं। वैशाख ७, कम्प्युटर एसोसिएसन नेपाल क्यान महासङ्घको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला शुरु हुँदैछ ।
मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ ।
२७ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेक आगामी छ दिनसम्म चल्नेछ । यो पटक क्यान इन्फोटेकको टिकटको मूल्य एक रुपैयाँ मात्र राखिएको छ ।
जसमा विभिन्न सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउन सकिनेछ । साथै सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध हुनेछन् ।
यसैगरी आईओटी, ब्लक चेन तथा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।
यस पटकको मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजको रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ ।