गुरासको महत्व

काठमाडौं। वैशाख ८, नेपालको राष्ट्रिय जनावर, पन्छी, फूल, झन्डा, रङबारे कसैले प्रश्न गर्यो भने पक्कै पनि अलमल हुँदैन।
अन्य बोटबिरुवाका पात झरेर तिम्रो हाम्रो आसपासको वातावरण उजाड देखिए पनि हिजोआज राष्ट्रिय फूल लालीगुराँसले भने वनपाखा उज्यालो बनाएको छ।
विज्ञले निकै लामो अध्ययन गरेर राय सुझाव दिएपछि तत्कालीन राजा महेन्द्रले २०१९ सालमा लालीगुराँसलार्ई राष्ट्रिय फूल घोषणा गरेका थिए।राजा महेन्द्रले २०१९ साल पुस १ मा सार्वजनिक गरेको संविधानमा राष्ट्रिय जनावर, पन्छी, फूल, झन्डा, रङसहित अन्य राष्ट्रिय पहिचान समेटिएको थियो।
त्यसपछि रूख आकार अर्थात् वृक्ष कदको लालीगुराँसले राष्ट्रिय पहिचान पाएको हो। नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन्।
नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले टीएमजेमा लालीगुराँसको जंगल लै छ।
टीएमजेमा मात्रै गुराँसका विभिन्न २८ प्रजाति पाइने भएकाले सो ठाउँलाई गुराँसको राजधानी समेत भनिन्छ। फागुन, चैत, वैशाख, जेठ महिनाभर अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाउने भएकाले टीएमजे पुग्ने आन्तरिक र बाह्य पर्यटकको संख्या निकै बाक्लो हुन्छ।