विवेकशील साझा पार्टी भरतपुर महानगरपालिकाको मेयरमा युवा इन्जिनियर प्रविन छनोट

काठमाडौं। वैशाख ११, शनिबार बसेको जिल्ला सदस्य भेलाले प्रविन काफ्लेलाई सर्वसम्मत रूपमा महानगरको उम्मेदवारको रूपमा अगाडी सारेको हो।
२८ वर्षीय काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक सम्पन्न गरी स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिँदै केहि वर्षदेखि आफ्नै उद्यम गरिरहेका छन्।
उनले विगत ३ वर्षदेखि पार्टीको हरेक अभियानमा नेतृत्व लिँदै केहि वर्षयता चितवन जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन्
उनी ‘तातोभात अभियान’ का योजनाकार पनि हुन् जसले भरतपुरमा २८ दिनसम्म निरन्तर कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरू तथा न्यून आयस्रोत भएका नागरिकलाई निःशुल्क खाना खुवाएको थियो।
सँगसँगै, चितवनका हरेक सामाजिक,राजनीतिक घटना तथा समस्याहरूप्रति चासो र चिन्ता राख्दै गम्भीरतापूर्वक समाधानमुखी राजनीति गर्ने सङ्कल्प बोकेका युवा राजनीतिज्ञ हुन्।
साथसाथै भेलाले महिला अधिकारकर्मी पुष्पा सापकोटालाई उपमेयरको रूपमा अगाडी सारेको छ।