२० देशका १० प्रतिशतले पाएनन् खोप

काठमाडौं। वैशाख ११, कोभिड महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी मानिएको खोप अझैसम्म विश्वका ४०.५ प्रतिशत जनसंख्याको पहुँचबाहिर छ ।
केही देशमा खोपको बुस्टर डोजसमेत प्रयोगमा आइसके पनि अझैसम्म विश्वका करिब २० देशमा खोपको प्रयोग १० प्रतिशतभन्दा न्यून छ ।
‘आवर वर्ल्ड इन डाटा’को विश्वव्यापी तथ्यांकअनुसार हालसम्म ५९.५ प्रतिशतले मात्र कोभिडविरुद्धको खोपको पूर्ण डोज लगाएका छन् ।
हाल केही सीमित देशबाहेक अन्य देशमा कोभिड संक्रमण सामान्य अवस्थामा फर्किएको छ । त्यसैले कोभिड महामारी अन्त्यतिर आएको वैज्ञानिकहरूको भनाइ छ । तर, अझैसम्म कतिपय देशमा खोपको प्रयोग दुई प्रतिशतसमेत नहुँदा जुनसुकै समयमा पुनः महामारीले उग्र रूप लिन सक्ने जोखिम भने कायमै रहेको उनीहरू बताउँछन् ।
कोभिडविरुद्धको औषधि हालसम्म निश्चित नभएका कारण खोपलाई नै महामारी नियन्त्रणका लागि मुख्य हतियार मानिएको छ । तर, खोपको पहुँच सर्वसुलभ नहुँदा उपलब्ध तथ्यांकअनुसार २० भन्दा बढी देशमा खोपको प्रयोग अति न्यून छ । हालसम्म सीमित देशमा मात्र खोपको प्रयोग ९० प्रतिशतभन्दा बढी भएको पाइएको छ ।