एमालेले आज चितवन र बुटवलमा चुनावी सभा गर्दै

काठमाडौं। वैशाख २५, नेकपा एमालेले आज चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दै छ ।
सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । चितवनमा क्याम्पाचौरमा दिउँसो १२ बजे सभा आयोजना गरिएको छ ।
सो सभालाई ओलीसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
भरतपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी छ ।
मौन अवधी सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा उमेदवारहरुले चुनावी घरदैलोलाई तीव्र बनाएका छन् । यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभा आयोजना गरेको थियो ।
गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ ।