प्रहरी नायब निरिक्षक महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौं। वैशाख २५,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी नायब निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

महतोले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी अख्तियारमा परेको थियो ।

सोहि उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट टोली खटिएको थियो । सोहि टोलीले महतोलाई सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बैशाख ६ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगको भनाई छ ।

महतोलाई विगो ३८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयागले जनाएको छ ।

प्रकाशित : 8 May, 2022

प्रतिक्रिया दिनुहोस्