नेपालमा पहिलो पटक देखा पर्‍यो अफ्रिकन स्वाइन फिभर

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ९, नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभरु नामक भाइरस देखा परेको छ ।

काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको सङ्क्रमणका कारण अहिलेसम्म एक हजार १९ वटा सुँगुर मरिसकेका छन् । एक हजार चार सय २६ वटा शङ्कास्पद र एक हजार तीन सय ६४ वटा सुँगुर बिरामी परेका छन् ।

बर्ड फ्लुु जस्तै प्रकृतिको यो भाइरस घरपालुवा सुँगुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

यो रोगबाट सङ्क्रमण भएमा सुँगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ ।

प्रकाशित : 23 May, 2022

प्रतिक्रिया दिनुहोस्