इन्धनको मूल्य बढ्यो
काठमाण्डौ । ज्येष्ठ ११, सरकारले इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । हाल यो प्रणाली भए पनि प्रभावकारी लागू हुन सकेको छैन ।
आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।कर समायोजन नगरी स्वचालित मूल्य प्रणाली लागू गर्दा इन्धनको मूल्य थप महँगो पर्नेछ ।
रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण विश्व बजारमै इन्धनको मूल्य अचाक्ली बढिरहेको छ । सोही कारण नेपालमा पनि इन्धनको मूल्य अहिलैसम्मकै उच्च भएको छ ।
नेपाल आयल निगमले गत आइतबारदेखि इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएसँगै पेट्रोलमा खुद्रा बिक्री मूल्य १ सय ८० रुपैयाँ पुगेको छ ।
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १८ सय पुयाइएको छ । मूल्य समायोजनपछि पनि निगमको पाक्षिक घाटा ३ अर्ब ३५ करोड छ ।
निगम निरन्तर घाटामा गएपछि सरकारले नीति तथा कार्यक्रममार्फत इन्धनको स्वचालित मूल्य लागू गर्ने घोषणा गरेको हो ।