काभ्रेमा करिब ९ प्रतिशत बालबालिकामा कुपोषण

सहयात्रा टिभी

काभ्रे। ज्येष्ठ १२, काभ्रे जिल्लामा करिब २ हजार बालबालिकामा पोषणको अवस्था जाँच गर्दा करिब ९ प्रतिशमा कुपोषण देखिएको छ ।

एक महिनाको अवधिमा १ हजार ९९३ जना बालबालिकाको पोषणको अवस्था जाँच गर्दा १ सय ७३ जना कुपोषित भेटिएका हुन् ।

जसमध्ये १४ जना अर्थात शुन्य दशमलव ७ प्रतिशतमा कडा खालको कुपोषण देखा परेको छ भने १ सय ५९ जना अर्थात ७ दशमलव ९५ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ ।

काभ्रेमा नमुना परियोजनाको रुपमा १३ वटै पालिकाका ६ महिनादेखी ५९ महिनासम्मका बालबालिकामा पोषण जाँच थालिएको छ ।

३६ हजार ३१९ बालबालिकाको सवास्थ्य जाँच गर्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले बताउनु भयो । उहाँका अनुसार सरल प्रविधिबाट बच्चाको पाखुरामा टेपको माध्यमबाट जाँचेर कुपोषण भए नभएको पत्ता लगाइन्छ ।

यस्तै, कुपोषित बच्चको कामालाई तथा परिवारको सदस्यलाई समेत यसबारे तालिम दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले नगरपालिकासँगको समन्यमा निशुल्क पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदै आएको धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले जानकारी दिनुभयो ।

सरल विधि, कम खर्चिलो हुनुका साथै यसले स्वास्थ्य शिक्षा समेत प्रदान गर्ने भएकाले यो कार्यक्रम प्रभावकारी समेत देखिएको छ ।

प्रकाशित : 26 May, 2022

प्रतिक्रिया दिनुहोस्