रोमालाई युरोपा कन्फेरेन्स लिगको उपाधि

काठमाण्डौ । ज्येष्ठ १२, निकोलो जानिलोको गोलमा एएस रोमाले बुधबार राति फियोनउडलाई १.० ले हराउँदै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ । युरोपियन प्रतियोगितामा रोमाको यो पहिलो उपाधि हो ।
जोजे माउरिन्होको प्रशिक्षणमा रोमाले पहिलो सिजन नै उपाधि जित्न सफल भएको छ । रोमाको जितमा जानिलोले ३२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले जियानलुका मान्सिनीको पासमा गोल गरेका थिए ।
यससँगै माउरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग, यूईएफए कप र युरोपा कन्फेरेन्स लिग गरी चारै युरोपियन प्रतियोगिताको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
समूह चरणमा नर्वेको बोडोरग्लिम्टसँग ६.१ ले पराजित भएपछि पोर्चुगलका माउरिन्होको चर्को आलोचना भएको थियो । तर, त्यसपछि चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक माउरिन्होको रोमाले उपाधि जित्न सफल भयो ।
युरोपियन प्रतियोगिताको फाइनलमा माउरिन्होले सतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । उनले पाँच फाइनलमध्ये पाँचमै उपाधि जितेका छन् ।