टप ५ युरोपेली लिग विजेता

काठमाडौँ । जेठ १३, जारी सिजनको उत्कृष्ट पाँच युरोपेली फुटबल लिग र युरोपा लिग विजेताको छिनोफानो भइसकेको छ ।
यस सिजन टप ५ लिगको अन्तिम चरणको खेल र युरोपा लिग सकिएसँगै उपाधि विजेता र रेलिगेसनमा पर्ने क्लबको पनि टुङ्गो लागेको हो ।
युरोपा लिग युरोपकै दोस्रो प्रतिष्ठित फुटबल लिग प्रतियोगिता हो, जसमा यसपटक जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्ट च्याम्पियन बन्यो ।
टाइब्रेकरमा स्कटिस क्लब रेन्जर्सलाई ५.४ ले पराजित गर्दै फ्रान्कफर्ट ४२ वर्षपछि युरोपा लिग च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटसम्मको खेल १.१ गोलको बराबरीमा टुङ्गिएपछि खेलमा अतिरिक्त समय थपिएको थियो ।
तर, अतिरिक्त समयमा थप गोल नभएपछि खेलको नतिजा टाइब्रेकरमार्फत भयो । यसअघि, सन् १९८० मा फ्रान्कफर्ट युरोपा लिग च्याम्पियन बनेको थियो ।
अब आगामी मे २९ मा रियल मेड्रिड र लिभरपुलबीच हुने यूरोपकै प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनल खेलपछि यस सिजनको युरोपेली फुटबल लिगको विधिवत समाप्ति हुनेछ ।
त्यसैगरी इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्देसलिगा, इटालियन सिरी ए र फ्रेन्च लिग वानलाई युरोपेली उत्कृष्ट ५ लिग मानिएको छ । यस सिजन टप ५ लिगको उपाधि विजेता र रेलिगेसनमा पर्ने क्लबको पनि टुङ्गो लागेको छ ।