युक्रेनलाई सहयोग गर्नुको सट्टा देशका विद्यालयको सुरक्षालाई प्राथमिकता दिऔँ : ट्रम्प

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले अमेरिकाले युक्रेनलाई सहायता उपलब्ध गराउनुको सट्टा देशभित्रका विद्यालयको सुरक्षामा लगानीका लागि प्राथमिकता दिन सुझाव दिएका छन् ।

टेक्सासस्थित एक विद्यालयमा भएको आक्रमणप्रति प्रतिक्रिया दिने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । उनले यदि अमेरिकाले युक्रेनलाई सहायताको रुपमा अर्बौं डलर दिन सक्छ भने आफ्ना देशका बालबालिकालाई सुरक्षित राख्न कुनै किसिमको कमी हुन दिन नहुने बताए ।

बालबालिकाको सुरक्षाका लागि कुनै कसुर बाँकी राख्न नहुने उनको जोड छ ।

ह्युस्टनमा नेशनल राइफल एसोसिएशनको बैठकका क्रममा ट्रम्पले यस्तो भनाइ राखेका हुन् । नेशनल राइफल एसोसिएशन अमेरिकाको सबैभन्दा ठूलो हतियार समूह हो ।

ट्रम्पले इराक र अफगानिस्तानमा अमेरिकाले खर्बौं रकम खर्च गरेको तर त्यसबाट कुनै उपलब्धि हासिल नभएको समेत बताएका छन् ।

तीन दिनअघि एक विद्यालयमा बन्दुकधारी युवकले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : 28 May, 2022

प्रतिक्रिया दिनुहोस्