कान्समा नेपाली फिल्म ‘लोरी’ ले पायो स्पेसल मेन्सन अवार्ड

सहयात्रा टिभी

काठमाडौँ । जेठ १५, विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म लोरीले स्पेसल मेन्सन अवार्ड जितेको छ । कान्समा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो ।

अविनाश विक्रम शाहले निर्देशन गरेको ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो ।

यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक शाह कान्सकै मञ्चमा पुगेका थिए ।

नेपाली फिल्मले पहिलोपटक कान्समा औपचारिक रुपमा भाग लिएको थियो र पहिलो अवसरमै अवार्ड पनि जित्न सफल भएको छ ।

एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त तुल्याउन लोरी गाउँछिन् । जब लोरी समाप्त हुन्छ र छोरी होसमा आउँछिन् वास्तविकता धेरै डरलाग्दो र जीवन परिवर्तन गर्ने देखिन्छ ।

यो फिल्मको स्क्रिप्ट र डायलग स्वयं शाहले लेखेका हुन् भने छायांकन उज्वलकुमार बस्ताकोटीले गरेका हुन् । अंकिता यादव, सुजिता साह र प्रीति झाले यसमा अभिनय गरेका छन् । नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्तरुपमा यसलाई निर्माण गरेका हुन् ।

मुख्य प्रतिस्पर्धातर्फको अवार्ड पाम दे ओरचाहिँ रुबेन ओस्टलन्डले ‘ट्रयांगल अफ स्याडनेस’बाट जिते । उनको यो दोस्रो पाम दे ओर हो । यसअघि उनले सन् २०१७ मा ‘द स्क्वायर’बाट अवार्ड जितेका थिए ।

प्रकाशित : 29 May, 2022

प्रतिक्रिया दिनुहोस्