तारा एयरको जहाजको बिहानैदेखि खोजी कार्य शुरु

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, तारा एयरको सम्पर्कविहीन जहाजको खोजी कार्य आज बिहानैबाट भइरहेको छ ।

बिहान ५ बजेदेखि नै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थलमार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्यानडा नेपाललाई जानकारी दिए ।

जहाज दुर्घटनाको सम्भावित क्षेत्रलाई लक्षित गरी स्थलमार्फत खोज तथा उद्धार टोली परिचालन गरिएको प्रजिअ शर्माले बताए । जोमसोमदेखि दक्षिण पश्चिम र धौलागिरि हिमाल आसपासको क्षेत्रलाई सम्भावित घटनास्थलको रुपमा केन्द्रित गरी खोज्ने कार्य अगाडि बढाइएको छ ।

जहाजको खोजीका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिए पनि प्रतिकुल मौसमका कारण हेलिकोप्टर परिचालन गर्न कठिनाइ भएको प्रजिअ शर्माले जानकारी दिए । बिहानैदेखि मुस्ताङको मौसम बिग्रिएको छ ।

जहाजको खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकोप्टरहरु तयारी अवस्थामा राखिएको र मौसम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

हिजो बिहान ९ : ५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्विनअटर जहाज अन्तिम पटक जोमसोम टावरसँग १० : ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएको थियो ।

उक्त जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्