सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

म्याग्दी । जेठ १६, पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिए ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा दुर्घटना भएको भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुष्टि गरेका छन् ।
यार्सागुम्बा खोज्न गएकाले जहाज दुर्घटनाको तस्वीर पठाएपछि सेनाको हेलिकोप्टर दुर्घटनास्थलको आकाशमा पुगेको थियो ।
पोखराबाट बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतवार बिहान १० : ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।