पञ्जाबी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या, क्यानाडास्थित ग्यांगस्टारको कनेक्सन

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, पञ्जाबी गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्या भएको छ । पञ्जावको मानसामा आइतबार साँझ गोली प्रहार गरी उनको हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गोली लागेर घाइते भएका उनको अस्पताल पुर्याउँदै निधन भइसकेको अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनको शरीरमा एक भन्दा बढी गोली लागेको पाइएको पनि अस्पतालले जनाएको छ ।

गोली लागि घाइते भएका दुईजनाको उपचार भइरहेको छ ।

गुडिरहेको गाडीमा हमला गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई पछ्याउँदै आएको दुईवटा गाडीका आक्रमणकारीले ५० भन्दा बढी गोली चलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

घटना हुनुभन्दा एकदिन अगाडि मात्रै पन्जाबको आम आदमी पार्टीको सरकारले उनको सुरक्षार्थ सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।

गायक मुसेवालाको हत्याको जिम्मेवारी क्यानाडामास्थित ग्यांगस्टार गोल्डी बरारले लिएको बीबीसीले उल्लेख गरेको छ । साथै प्रहरीले ग्यांगस्टार लोरेन्स बिश्नोईको संलग्नताबारे पनि अनुसन्धान गरिरहेको छ ।

मुसेवालाको हत्यापछि परिवारले भने पोस्टमार्टमका लागि अस्वीकार गर्दै राष्ट्रिय जाँच एजेन्सीद्वारा अनुसन्धान गरिनु पर्ने माग राखेका छन् । परिवारले हत्याकान्डमा विदेशी ग्यांगस्टारको हात रहेको दाबी गरेका छन् ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्