सस्तो विद्युतीय गाडीमा छुट, विलासीमा थप कर
काठमाडौँ । जेठ १७, । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा विलासी खालका विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महसुल दुवै वृद्धि गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आवदेखि महँगा तथा विलासी खालका विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने प्रस्ताव गरेका हुन्।
सरकारले तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ।
त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको ४५ प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत पुर्याउने निर्णय गरेको छ। यी तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन अन्यन्तै न्यून संख्यामा मात्रै आयात हुँदै आइरहेका छन्।
सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरेर ३० प्रतिशत पुर्याएको छ।
आर्थिक ऐन मार्फत दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सारदर ३० प्रतिशत रहेकोमा अहिले वृद्धि गरेर ४५ प्रतिशत भन्सार कायम गरेको छ।