श्रीमानको यातनाले गम्भीर घाइते गीता माझीको उपचारको क्रममा मृत्यु

काठमाडौँ । जेठ १७, श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा रहेकी माझीको सोमबार राति ११ बजे ज्यान गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि एकपटक शौचालय पनि गएकी थिइन् ।
तर, राति ११ बजे एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक पटक कुटपिट गर्दै आएका स्थानीयले जानकारी दिएका छन् ।
गीताले ज्याला मजदुरीको काम गर्दै आएकी थिइन । तर रामचन्द्र भने बिहानैदेखि रक्सी पिउँदै बस्ने गरेका थिए । गीताले कमाएर ल्याएको पैसाबाट आफूलाई रक्सी खान पैसा नदिए कुटपिट गर्ने सोही वडाका वडा सदस्य ज्ञान्ती पासवानले जानकारी दिइन् ।
सुकुम्बासी माझीको उपचार खर्च भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाई (ओसीएमसी) बाट नि:शुल्क उपचार हुँदै आएको थियो । तर, गीताको मृत्युपछि काजकिरिया गर्ने खर्च समेत नभएको उनका आफन्त तथा स्थानीयले बताएका छन् ।
गीताकी ३ छोरी छन् । एक छोरीको विवाह भइसकेको छ भने दुई जना नाबालक छन् ।
गीताका श्रीमान प्रहरी हिरासतमा छन् । सोमबारसम्म उनीविरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार