तारा एयरको दुर्घटनाग्रस्त जहाजको भेटियो ब्ल्याक बक्स

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, तारा एयरको दुर्घटनाग्रस्त ट्वीनअटर जहाजको ब्ल्याक बक्स भेटिएको छ ।

आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स आज बिहान भेटिएको हो । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले ब्ल्याक बक्स भेटाएको सो टोलीका एक सदस्य विनायकजय मल्लले जानकारी दिए । टोलीमा ७ जना सदस्य रहेका छन् ।

ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।

यसैबीच हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको मल्लले जानकारी दिए । सबै २२ वटा शव र ब्ल्याक बक्स भेटिएको र मिसन कम्प्लिट गरेर फर्किएको मल्लले बताए ।

सोमबारसम्म भीरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । आज बिहान भने सबै शव संकलनको काम सकिएको छ ।

घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० शव काठमाडौं ल्याइएको थियो । ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ : ५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज बेपत्ता भएको छ । बेपत्ता उक्त जहाज सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्