हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

सहयात्रा टिभी
प्रतिकात्मक तस्वीर

काठमाडौँ । जेठ १८, हेलिकोप्टर उडानमा दुर्घटना कम गर्न दुईजना पाइलट अनिवार्य गरिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई दुर्घटना कम गर्न भन्दै हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

हेलिकोप्टर उडानमा दुईजना पाइलटको व्यवस्था १ जुलाई (१७ असार)देखि कार्यान्वयनमा ल्याइने क्यानका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।

अहिलेसम्म ठूला ‘एमआई – १७’ हेलिकोप्टर र जहाजमा मात्र दुईवटा पाइलट राखेर उडान गर्न अनिवार्य गरिएको थियो । तर, अब साना हेलिकोप्टरमा पनि दुई जना पाइलट राख्नुपर्ने निर्णय भएको उनले जानकारी दिए ।

क्यानले हेलिकोप्टर उडानमा दुईजना चालक अनिवार्य गर्ने प्रस्ताव तयार गरेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोलीसमेत गठन गरिसकेको छ । ‘साना हेलिकोप्टर उडानमा पनि अनिवार्य दुईजना पाइलट राख्नुपर्ने निर्णय भइसकेको छ,’ प्रवक्ता कर्णले भने, ‘कहिलेकाहीँ हाई अल्टिच्युडमा एउटै पाइलटबाट उडान गर्नुपरेको खण्डमा हेलिकोप्टरको अवस्था कस्तो हुनुपर्ने, पाइलटको तालिम कस्तो हुने, के–के नियम र सर्तहरू पालना गर्ने भनेर अध्ययन गर्न प्राविधिक टोली गठन गरिएको हो ।’

नेपालको भौगोलिक अवस्थितिले पहाडी र हिमाली भेगमा साना जहाज र हेलिकोप्टर दुर्घटना दर उच्च छ । ‘एकजना पाइलटको भरमा हेलिकोप्टर उडाउँदा दुर्घटनाको जोखिम धेरै भयो, अब साना हेलिकोप्टरमा पनि दुईजना पाइलट अनिवार्य हुनुपर्छ,’ क्यानका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘उडानकै क्रममा पाइलट बेहोस वा बिरामी परेकै कारण हेलिकोप्टर दुर्घटनामा परेर यात्रुले ज्यान गुमाउने अवस्था हुनुभएन ।’ पाइलट दुईजना भएमा दुर्घटना कम हुने क्यानको विश्वास छ । उनले थपे, ‘सेनाका ठूला हेलिकोप्टरमा दुईजना पाइलट हुने हुँदा दुर्घटना निकै कम हुन्छ, सिंगल पाइलटकै भरमा हेलिकोप्टर उडाउने परिपाटी बन्द गरेरै छाड्छु ।’ उनले सोमबार बसेको संसदीय समितिको बैठकमा पनि हेलिकोप्टर दुर्घटना कम गर्न अनिवार्य दुईजना पाइलट राख्नुपर्ने कुरा उठाएका थिए ।

जल तथा मौसम विज्ञान विभागले कुनै उडान क्षेत्रमा निश्चित अवधिसम्म मौसम प्रतिकूल रहेको विवरण दिएको खण्डमा वायुसेवा सञ्चालक र विमानस्थल कार्यालयलाई त्यहाँ उडानमै रोक लगाउन परिपत्र जारी गर्ने निर्णय गरेको छ । मौसम खराब भएको थाहा हुँदाहुँदै पनि वायुसेवा सञ्चालकले अटेर गरी उडान गर्दा दुर्घटना बढेको ठहर गर्दै क्यानले मौसम सफा नहुन्जेल एयरपोर्ट नै बन्द गर्ने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्