विश्व नम्बर १ जोकोभिक फ्रेन्च ओपनबाट बाहिर, नाडाल सेमिफाइनलमा

काठमाडौँ । जेठ १८, स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा मंगलबार राति भएको खेलमा विश्व नम्बर एक नोभाक जोकोभिकलाई पराजित गर्दै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।
कीर्तिमानी २१ औँ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ६-२, ४-६, ६-२ र ७-६ (७-४) को सेटमा हराए ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् । यसका साथै उनले २ अस्ट्रेलियन ओपन, २ विम्बलडन र ४ यूएस ओपन उपाधि जितेका छन् ।
२१ औँ ग्राण्डस्लाम जित्दै नाडालसँग बराबरी गर्ने जोकोभिकको सपना भने पूरा हुन सकेन । उनले २० ग्राण्डस्लाम उपाधि जितिसकेका छन् । जोकोभिकले हालसम्म ८ अस्ट्रेलियन ओपन, २ फ्रेन्च ओपन, ६ विम्बलडन र ३ यूएस ओपन जितेका छन् ।
अब नाडालले आगामी शुक्रबार हुने सेमिफाइनलमा एलेक्सजेण्डर ज्वेभरेभसँग खेल्ने छन् ।
तेस्रो वरीयताका जर्मन ज्वेभरेभले स्पेनका कार्लोसलाई हराएका थिए ।