कृषिमा लगानी बढाउन निजी क्षेत्रलाई प्रदेश १ सरकारको आग्रह
काठमाडौँ । जेठ २२,कृषिमा व्यावसायिक लगानी गरेर उत्पादन बढाउन प्रदेश १ सरकारले निजी क्षेत्रलाई आग्रह गरेको छ ।
आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि उद्योगी व्यवसायीहरूसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले यस्तो आग्रह गरेका हुन् ।
व्यावसायिक कृषिका लागि लगानी गर्नुहोस्, हामीले के कसरी गर्नुपर्छ, हामी तयार छौँ ।’ उनले कृषिसँगै पर्यटन र ऊर्जा क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउन सहयोग गर्ने बताए ।
आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी वर्षको बजेटमा प्रदेश १ सरकारले कृषि क्षेत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिने जानकारी गराए ।
प्रदेशको कृषि क्षेत्रलाई औद्योगिकीकरण नगरेसम्म उपलब्धि प्राप्त हुन नसक्ने भन्दै कृषि वस्तुको उत्पादनमा समेत अनुदान दिने गरी बजेट निर्माण गर्ने उनले बताए ।
उनले भने, ‘आगामी दिनमा विश्वमा डरलाग्दो खाद्य संकट आउँदै छ, यसैले हामीले आत्मनिर्भर हुने गरी उत्पादन बढाउनुको विकल्प छैन ।
यसैले सरकार कृषि क्षेत्रमा निजी क्षेत्रको अधिक लगानी भित्र्याउन तयार छ ।’ यसैगरी आगामी बजेटमा प्रदेश १ सरकारले प्रसिद्ध तीर्थस्थलहरूसम्म पुग्ने पूर्वाधारहरू निर्माण गर्न पर्याप्त बजेट विनियोजन गर्ने सोच बनाएको छ ।