काठमाडौँमा बिहानैदेखि वर्षा, वाग्मती र गण्डकी प्रदेशमा पूर्ण बदली

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा वर्षा भइरहेको हो ।

मौसमविद् सजिना शाक्यले आज दिनभर काठमाडौँमा वर्षाको सम्भावना उच्च रहेको जानकारी दिएकी छन् । यद्यपि, केही समय पानी पर्ने क्रम रोकिन पनि सक्ने उनको भनाइ छ ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजराति प्रदेश १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसमविद् शाक्यका अनुसार हाल पूर्वी नेपालमा मात्रै मौसमी वायु सक्रिय रहेको छ ।

मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

प्रकाशित : 8 June, 2022

प्रतिक्रिया दिनुहोस्