शुक्रबार देखि भारतलाई ३६४ मेगावाट विद्युत बेच्दै नेपाल

काठमाडौँ । जेठ २६, नेपाल जलस्रोतमा दोस्रो धनी देश हो ।
तर, यहाँको पानी प्रयोग गरेर नेपालले खासै फाइदा लिन सकेको छैन । केही वर्षअघिसम्म नेपाल र नेपालीले दैनिक १८ घन्टा लामो लोडसेडिङ खेपेका थिए ।
अहिले जलविद्युतमा लगानीसँगै उत्पादन वृद्धि हुँदै आएको छ । जसले गर्दा उत्पादन भएको विद्युत नेपालमा उब्रिन थालेको छ । यसरी उब्रिएको विद्युत भारतमा बिक्री सुरुसमेत भएको छ ।
यसले नेपालको वैदेशिक व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
गत शनिबारदेखि कालीगण्डकीको बिजुली भारत निर्यात सुरु भएको छ । त्यो बेला प्रतियुनिट १९ रुपैयाँमा विद्युत निर्यात भएको हो ।
जेठ २१ गते नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत पनि भारत निर्यात सुरु भयो ।
शुक्रबारदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात हुने भएको छ । प्राधिकरणका अनुसार ३१२ मेगावाट विद्युत भारत निर्यात गरिँदा मासिक ७ करोड रुपैयाँ कमाइ भएको छ ।