ओमानसँग १३ रनले नेपाल पराजित

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले । देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी सुन्य रनमा अविजित रहे ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।

ओमानका लागि जिसन मक्सुदले अविजित रहदै १ सय ४ रनको शतकीय इनिङ खेले । नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । उनी सोमपाल कामी र सन्दीप लामिछानेले पछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बने ।

यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए । यस हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध आगामी मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध असार १ गते खेल्ने तालिका रहेको छ ।

प्रकाशित : 10 June, 2022

प्रतिक्रिया दिनुहोस्