काठमाडौँको फोहोर उठाउन मध्यराति १८ बुँदे सहमति

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका र बञ्चरेडाँडाका स्थानीयबीच फेरि १८ बुँदे सहमित भएको छ।

यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको बन्चरेडाँडा–सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो।

सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने समझदारी भएको छ । साथै, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ।

समझदारी पत्रमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गरेका छन्।

त्यस्तै स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका १ का अध्यक्ष श्रीमानबहादुर तामाङ र २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन्।

सहमतिपछि शुक्रबारबाट उपत्यकाको फोहोर उठ्ने दाबी गरिएको छ।

प्रकाशित : 10 June, 2022

प्रतिक्रिया दिनुहोस्