आँबुखैरेनीमा सडक भासिएको स्थानमा दुई जनाको शव फेला

तनुहँ । जेठ २७, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक पृथ्वी राजमार्ग भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ । सडक भासिदा दुईतर्फी सवारी आवगमनसमेत अवरुद्ध भएको छ ।
सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए ।
सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उनले भने, ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।’
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको प्रहरीले जनाएको छ ।