हंगेरीले जर्मनीलाई बराबरीमा रोक्यो

काठमाडौँ । जेठ २९, हंगेरीले शनिबार राति यूईएफए नेसन्स लिगमा जर्मनीलाई १.१ को बराबरीमा रोकेको छ ।
घरेलु टोली हंगेरीले छैटौँ मिनेटमा जोल्ट नागेको गोलबाट अग्रता लिएको थियो । तर, चारपटकको विश्व विजेता जर्मनीले हंगेरीको अग्रता लामो समय टिक्न दिएन ।
त्यसको तीन मिनेट नबित्दै जोनस होफम्यानले बराबरी गोल फर्काएपछि जर्मनीले अंक बाँड्न सफल भयो ।
योसँगै हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले अपराजित यात्रालाई १२ खेलसम्म लम्ब्याएको छ । यद्यपि, जर्मनी पछिल्लो चार खेलमा जितविहीन छ । जर्मनीले पछिल्लोपटक नेदरल्यान्ड्स, इटाली र इंथ्ल्यान्डसँग समान १.१ को बराबरी खेलेको थियो ।
हंगेरी यसअघि इटालीसँग २.१ ले पराजित भएको थियो । त्यसअघि भने हंगेरीले इंग्ल्यान्डलाई १.० ले हराएको थियो ।