शादबको अलराउन्ड प्रदर्शनमा पाकिस्तानको जित

काठमाडौँ । जेठ ३०, शादब खानले अलराउन्ड प्रदर्शन गरेपछि पाकिस्तानले गएराती तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजलाई डकवर्थ–लुइस पद्धतीमा ५३ रनले हराएको छ ।
जितसँगै पाकिस्तानले तीन खेलको शृंखला क्लिनस्विप गरेको छ । शादब खानले ८६ रन बनाएपछि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ पाकिस्तानले निर्धारित ४८ ओभरमा ९ विकेट गुमाएर २६९ रन बनाएको थियो ।
२७० रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ३७।२ ओभरमा सबै विकेट गुमाएर २१६ रनमात्र बनाउन सक्यो । वर्षाका कारण खेल ४८ रनमा छोट्याइएको थियो ।
शादब खानले ७८ बलमा ४ चौका र ३ छक्कासहित ८६ रन बनाएका थिए । ओपनर इमाम उल हकले ६२ रन बनाए । उनले ६८ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।
अर्का ओपनर फखर जमानले ३५ रन बनाए । खुशदिल शाहले ३४ रन बनाए भने मोहम्मद रिजवानले ११ रन बनाए ।
वेष्ट इन्डिजका निकोलस पुरनले ४ विकेट लिए । कीमो पाउलले दुई विकेट लिँदा जयडेन सिल्स, हाएडेन वाल्स र अकील होसैनले एक एक विकेट लिए ।