नागरिकलाई महँगीको मारबाट बचाउ
काठमाडौँ । जेठ ३१, बजारमा चिनीको मूल्य बढेको छ । एकातिर भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउनु अनि अर्कातिर आन्तरिक बजारमा सीमित स्टकमा चिनी हुनुका कारण चिनीको मूल्य बढ्न गएको देखिन्छ ।
चिनी आफैंमा तयारी उत्पादन हो भने यो केही उद्योगका लागि कच्चा पदार्थ पनि हो । त्यसैले बजारमा चिनीको मूल्य बढ्नुको अर्थ चिनीमात्र नभएर अन्य खाद्यवस्तुको पनि मूल्य बढ्नु हो ।
पछिल्ला दुई सातामा प्रतिकेजी चिनीको मूल्य २० रुपैयाँले बढेको छ । दुई साताअघिसम्म प्रतिकेजी ९० देखि ९५ रुपैयाँमा बजारमा उपलब्ध चिनी हाल उपभोक्तालाई १ सय ५ रुपैयाँदेखि १ सय १० रुपैयाँ पर्न थालेको छ ।
हरेक वर्षझैं यसपटक पनि आन्तरिक बजारको चिनीले माग धान्न सक्ने हुँदा आयात बन्द हुनासाथ उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ ।
नेपाल चिनी उद्योग संघका अनुसार नेपालको आन्तरिक खपत २ लाख ५० हजार रहेको छ, जसमध्ये १ लाख ३० हजार मेट्रिक टन चिनी स्वदेशी उद्योगले उत्पादन गर्छन् भने बाँकी माग धान्न विभिन्न मुलुकबाट चिनी आयात गरिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका साथै अन्य विभिन्न कारणले नेपाली बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवामा अत्यधिक महँगी बढी रहेको छ ।
हरेक सेवा तथा वस्तुमा भएको मूल्यवृद्धिले नेपाली नागरिकको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ ।
रूस तथा युक्रेनको युद्धका कारण भन्दै हरेक साता पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने योजनाले पनि झन् मूल्यवृद्धिमा चाप पर्नेछ । एकातिर आम्दानी नबढ्ने तर मूल्यवृद्धिमात्रै बढ्दै जाँदा नागरिकको क्रयशक्तिमा क्षय हुँदै गइरहेको छ ।