चितवनमा पनि आजबाट बालबालिकालाई खोप

काठमाडौँ । असार ९, आजबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाईंदैछ ।
पाँच वर्ष पूरा भएका ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरी फाइजर बायोएनटेक खोप लगाउने अन्तिम तयारी भएको छ ।
पहिलो चरणमा चितवनसहित २७ जिल्लामा यो खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख रामकुमार केसीले जानकारी दिए ।
नेपाल सरकारको केन्द्रीय कार्यक्रमअनुसार पहिलो मात्रा खोप अभियान आजदेखि असार १५ गतेसम्म तय गरिएको छ । तर चितवनमा असार १८ गतेसम्म खोप लगाइने निमित्त प्रमुख केसीले बताए ।
भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने नियमित खोपका कारण असार १४ गतेदेखि १८ गतेसम्म यो खोप लगाउने कार्यक्रम बनाइएको छ ।
बालबालिकाहरुको सहजतालाई ध्यानमा राखेर कोही पनि नछुटुन् भनेर विद्यालयमा नै खोप केन्द्र बनाइएको छ । विद्यालयमा नजाने तथा विद्यालय बाहिर रहेका बालबालिकाले समेत प्रमाणित उमेरको आधारमा यो खोप लगाउन सक्ने उनले बताए ।