काठमाडौँ उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । असार १०, काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । उपत्यकाका धेरै स्थानमा बिहानैदेखि भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण उपत्यकाका नदी तथा सहायक नदीको जल सतह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । पछिल्लो चार घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको जनाउँदै वाग्मती, हनुमन्ते, मनोहरा र यसका सहायक नदीमा जलसतह बढ्दो रुपमा रहेको हुनाले नदी किनारको बाटो भई यात्रा गर्दा अर्को तीन घण्टा सतर्कता अपनाउन आग्रह गरिएको हो ।
हाल देशका प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।