तीन महिनामै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बन्द

इलाम । असार १३, शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सञ्चालनमा आएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सेवा बन्द भएको छ ।
तामझामका साथ उद्घाटन भएको तीन महिनामै विमानस्थलको सेवा बन्द भएको हो । गत फागुन ११ गतेदेखि सातामा दुई दिन काठमाडौँ – इलाम हवाई उडान हुँदै आएकोमा पछिल्लो एक महिना यता भने विमास्थल ठप्प छ ।
इलाम नगरपालिका र तारा एयरबीच हवाई उडानका लागि सम्झौता भइ हवाई सेवा सञ्चालनमा आएको थियो । तर, नगरपालिकासँगको सम्झौता समय सकिएलगत्तै ताराले हवाई उडान बन्द गरेको छ । इलामबासीले हवाई उडान नियमित गर्न माग गरेका छन् ।
इलाम नगरपालिकाले प्रत्येक उडानमा ११ जना यात्रुको टिकट ग्यारेन्टी गरेपछि मात्रै तारा एयरले उडान गर्ने र ११ जना यात्रु नपुगेको खण्डमा अपुग यात्रुको भाडा नगरपालिकाले बेर्होने सम्झौता भएको थियो ।
अहिले उक्त सम्झौताको समय सकिएपछि हवाई उडान बन्द भएको हो । विमानस्थललाई नियमित सञ्चालनका लागि पहल भइरहेको नगरपालिकाका प्रमुख केदार थापाले बताए ।