निर्वाचन खर्चको विवरण बुझाउन उम्मेदवारको आनाकानी

काठमाडौँ । असार १४, विवरण नबुझाउने उम्मेदवारको संख्या धेरै छ। थोरै मात्रै उम्मेदवारले आफूले गरेको खर्चको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
मोरङमा ४,३४६ जना उम्मेदवार बनेका थिए। वैशाख ३० गते सम्पन्न निर्वाचनबाट विभिन्न पदमा ८२९ जना निर्वाचित भए। तर खर्चको विवरण भने हालसम्म ३१५ जनाले मात्रै बुझाएका छन्।
१ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकासहित १७ वटा स्थानीय तह रहेको मोरङमा प्रमुखमा पदमा ७४, उपप्रमुखमा ७०, अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, खुला सदस्यमा १,६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाले उम्मेदवारी दिएका थिए।
निर्वाचन आयोग ऐन २०७३ को दफा २५ अनुसार निर्वाचन सकिएर अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले चुनावका बेला आफूले गरेको खर्चको विवरण बुझाउनुपर्ने हुन्छ।
उम्मेदवारले प्रयोग गरेको सवारीसाधन, कार्यकर्ता एवं प्रतिनिधि परिचालन, कार्यालय सञ्चालन, प्रचारप्रसार, इन्धन, ढुवानीलगायतमा गरेको खर्चको विवरण पेस गर्नुपर्ने प्रावधान छ।
तर मतपरिणाम घोषणा भएको लामो समयसम्म उम्मेदवारले खर्चको विवरण नबुझाएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख एवं उपसचिव लेवन काश्यप अधिकारीले जानकारी दिए। उनका अनुसार हालसम्म ७ प्रतिशतले मात्रै विवरण बुझाएका छन्।