आज हरिशयनी एकादशी, आजैबाट चतुर्मास व्रत आरम्भ

काठमाडौँ । असार २६, आज असार शुक्ल एकादशी अर्थात घरघरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर एकादशीसहित चतुर्मास व्रत थालनी गर्ने दिन । आजबाट कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि मात्र चतुर्मास सकिने धार्मीक मान्यता छ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मका ४ महिना भगवान् विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान् विष्णुले आफू शयन गर्ने हुँदा भगवान् शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेष गरी भगवान् शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।
भगवान् विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषि पञ्चमी, नाग पञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । विष्णु चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन ।
हरिशयनी एकादशीका दिनदेखि सृष्टिकर्ता श्रीविष्णु चार महिना पातालमा शयन गर्न जाने धार्मीक मान्यता छ । यही कारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी भनिएको हो । यो एकादशीमा चीर निन्द्रामा गएका श्रीबिष्णु चतुर्मास सकी हरिबोधिनी एकादशीमा जाग्ने विश्वास गरीन्छ ।
हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आज रोप्दै पूजा गरिन्छ । हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ ।
यस्तो छ, हरिशयनी एकादशीको व्रत कथा
भविष्योत्तर पुराणमा उल्लेख भए अनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान् ब्रह्माले नारदलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई सुनाएको उल्लेख छ । कथा अनुसार एकादेशको एउटा राज्यमा एक जना धार्मिक राजा मन्दताले शासन गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा नदी–नाला सुके, रुख बिरुवा मर्न थाले । एक दिन राजाले अंगीरा नामक ज्ञानीलाई भेटेर समस्याको समाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको मान्यता ।