सी जिनपिङले घोषणा गरेको कोषले नेपालको विकासमा सहयोग पुग्छ : विदेश विभाग प्रमुख लिउ

सहयात्रा टिभी

काठमाडौँ । असार २७, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको चीन सरकार दक्षिण सहयोग सहायता कोषले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका देशलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको हो ।

प्रमुख छाओले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई देशबीचको सामाजिक सङ्गठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘चीन र नेपालबीचको युगौँयुगदेखिको आधार धेरै बलियो छ, दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बीपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजनाले पनि यस कोषको समर्थन पाउँछ भन्ने आसा छ’ चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख छाओले बताउनुभयो ।

आज सोमवार काठमाण्डौको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भएमात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि उनीहरू स्वस्थ र खुशी हुन आवश्यक रहेको बताउनुभयो । उहाँले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली बालबालिकाहरूलाई चीन भ्रमणमा आउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल–चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिशन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताउनुभयो । उहाँले लामो समयदेखि चीनले नेपाललाई आर्थिक, प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित : 11 July, 2022

प्रतिक्रिया दिनुहोस्