मेहेन्दीको फेसन : कसरी तयार पार्ने ? कस्तो डिजाइनको मेहन्दी सुहाउँछ ?

सहयात्रा टिभी

काठमाडौँ । ३२ असार, साउनमा फेसन र शृंगारको विशेष महत्व छ । भोलि साउन १ गतेबाट हरियो, रातो, पहेंलो पहिरन लगाउने गरिन्छ । साउनमा रंगको संयोजन पोसाकमा मात्र नभई पोते, चुरा र मेहेन्दीसम्मको हुने गर्दछ । पछिल्लो एक दशकयता साउनमा हातमा मेहन्दी लगाउने चलन बढ्दो छ । साउन महिनामा एकरुपता ल्याउने मेहन्दी किन लगाइन्छ ?

साउन त्यसैपनि मेहेन्दीको मौसम हो । यो नारीको सोह्र सृंगारमा पनि पर्दछ । अधिकाशंले मेहन्दीलाई फेसनको रुपमा लगाउँछन् भने अविवाहिताहरुले राम्रो श्रीमानको कामना अनि विवाहिताहरुले वैवाहिक जीवनमा पती–पत्नी बीचको प्रेम प्रगाढ होस् भनेर लगाउँछन् । मान्यता त कतिसम्म छ भने मेहेन्दी जति गाढा लाग्छ, उत्तिनै गाढा माया बस्छ भनेर विश्वास गरीन्छ ।

पहिले पहिले असारे चटारोवाट उम्किएपछि सुकिलो मुकिलो भएर वस्न महिलाहरुले हात, खट्टामा मेहन्दी लगाउथे । खेतीको कामले हात खुट्टामा लागेको चोट हटाउन र त्यसलाई मुलायम बनाउन मेहन्दी लगाइन्थ्यो । पछि यो विवाहमा बेहुलीको शृंगारको रुपमा समेत प्रयोग हुन थाल्यो । आजकल तिज र साउनमा मेहन्दी लगाउने चलन नै बसेको छ ।

यसरी बनाउनुहोस् मेहेन्दी
खासगरी घरमै मेहेन्दी तयार पार्नु राम्रो हुन्छ । खासगरी मेहन्दीको पात वा तिउरी फूलको पातको मेहन्दी राम्रो हुन्छ । आजकल त सजिलै बजारमा तयारी मेहेन्दी पाइन्छ । तर यस्तो मेहेन्दीमा रसायन हुने भएकाले छालामा समस्या आउन सक्छ ।

कसरी बनाउने मेहेन्दीको लेप ?
– शुरुमा मेहन्दीको धूलोलाई मलमलको कपडाले दुई÷तीन पटकसम्म चाल्ने ।
– त्यसपछि चियापत्तीको पानीमा मेहन्दीलाई पाँच घन्टा भिजाउने ।
– अब तयार भएको लेप मेहन्दीमा भए मेहन्दीको तेल केही थोपा मिसाए गाढा हुन्छ ।

मेहन्दी लगाउन कसरी बनाउने कोन ?
– कोनका लागि एउटा सफा प्लास्टिकलाई चारकुने आकारमा काट्ने ।
– प्लास्टिकको एउटा कुना समातेर अर्को कुनातिर सोली आकारमा बटार्दै लैजाने ।
– कोन बनेपछि बाहिरपट्टि सेलोटेपले मज्जाले टाँसिदिने ।
– अब यसमा केहि मेहन्दी भर्ने र माथिबाट रबर, स्टिच वा टेपले कोनको मुख बन्द गर्ने ।
– तयार कोन मेहन्दीलाई बजारको जस्तै सहजै प्रयोग गर्न सक्नु हुन्छ ।

कस्तो मेहन्दी लगाउने ?
मेहन्दी हातको रंग, आकार अनुसार सुहाउँदो लगाउँनु पर्दछ । हातमा किरमिर हुने गरी एकअर्कामा टासिएको मेहन्दी भन्दा पर पर धर्का भएको मेहन्दीको डिजाइन राम्रो देखिन्छ । कार्यालयमा काम गर्ने वा विद्यार्थीहरुले हत्केलामा मात्र मेहन्दी लगाउँदा राम्रो हुन्छ । हत्केला पछाडी, नाडीसम्म वा कुहिनासम्म कामकाजी महिलाकालागी उपयुक्त नहुन सक्छ ।

मेहन्दी लगाउँदा यसको गाढापनमा ध्यान दिनुहोला । आजकल इन्टरनेटबाट सजिलै आफुलाई मन परेको डिजाइन हेरेर सोहि अनुसारको डिजाइन हातमा बनाउन सकिन्छ । पछिल्लो समय अरविक र व्राइडल वढी चल्तीका मेहन्दी डिजाइन हुन् ।

प्रकाशित : 16 July, 2022

प्रतिक्रिया दिनुहोस्