फोहोर नमिसाउने अभियान : घरदैलो कार्यक्रममा आफैँ पर्चा बाँड्दै हिँडे मेयर शाह

काठमाडौँ । ३२ असार, काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहोर नमिसाउने अभियानअन्तर्गत शनिबार (आज) घरदैलो कार्यक्रम गरेको छ ।
साउन १ गते (भोलि) देखि कुहिने र नकुहिने फोहोर छुट्याएर फरक फरक बार अनुसार फोहोर संकलन गर्न लागेको महानगरपालिकाले आज जनचेतनाका लागि घरदैलो कार्यक्रम गरेको हो ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वको महानगरले घरदैलो कार्यक्रम गरेको हो । ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको ब्यानर र माइकिङसहित घरदैलो कार्यक्रम गरेका शाह आफैले स्थानीय जनतालाई फोहोर संकलन तथा व्यवस्थापनसम्बन्धी महानगरले छापेको पर्चासमेत बाँड्दै हिँडेका थिए ।
घरदैलोका क्रममा आफैँ पर्चा बाँड्दै हिँडेका प्रमुख शाहसँग फोटो खिच्नेहरुको पनि भीड लागेको थियो ।
उनले फोहोर नमिसाउने महानगरको अभियान नै चलाइएको बताए । साथै निरन्तर घरदैलो कार्यक्रम हुने पनि बताएका छन् ।
महानगरपालिकाले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ। साथै नकुहिने फोहोरका लागि सोमबार र शुक्रबार तोकेको छ । तोकिएको समय बमोजिम नागरिकले फोहोर व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।