नेविसंघ र अखिल(क्रान्तिकारी)ले आज गभर्नरलाई कार्यालय छिर्न नदिने
काठमाडौँ । १ साउन, सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै घेराउ र बिरोध प्रदर्शन गर्ने भएका छन् ।
दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका बिषयहरुमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थी संगठनहरु केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल(क्रान्तिकारी)ले आज घेराउ र बिरोध प्रदर्शन गर्न लागेका हुन् ।
आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा भेला भइ गभर्नर अधिकारीलाई कार्यालय प्रबेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।
बिरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना शुरु भएको हो ।
अधिकारीको नियुक्ति ‘राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले बिरोध चर्काएका हुन् ।
सरकारलाई दबाब बढाउने नीति अनुरुप यसअघि शुक्रबार नेविसंघले माईतिघरमा प्रदर्शन गरेको छ भने शनिवार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।