आजको मौसम आंशिकदेखि सामान्य बदली, मंगलबारदेखि भारी वर्षा

काठमाडौँ । १ साउन, जल तथा पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
आज दिउँसो पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहान प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ। जसले गर्दा मनसुनमा जुन रुपमा वर्षा हुनु पर्ने केही दिन यतादेखि हुन सकेको छैन । मनसुनको समयमा वर्षा नहुँदा तराईका साथै पहाडी क्षेत्रमा पनि ह्वात्तै गर्मी बढेर गएको छ ।
महाशाखाले साउन ३ गते (मंगलबार) दिउँसोदेखि भने मनसुन फेरि सक्रिय भइ केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । मंगलबार राति गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थान र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।