बजेट प्रकरणमा आज पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गरिँदै
काठमाडौँ । साउन ४, बजेट प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ ।
आज बस्ने संसदीय छानबिन समितिको बैठकमा पूर्व अर्थमन्त्री शर्मालाई सोधपुछ गर्न बोलाइएको छ ।
शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको छ ।
त्यस्तै, समितिले शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी गरेको छ ।
आज दिउँसो बस्ने बैठकमै अर्थमन्त्रीको विषयमा समाचार बाहिर ल्याउने मिडिया अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिक सम्पादकहरूसँग छलफल गर्ने तय भएको हो ।
यसअघि समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नका लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरिसकेको छ।