नयाँ आर्थिक वर्ष सुरु भएसंगै नेप्से दिनानुदिन बढ्दै

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो दिन पनि सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । साताको चौथो कारोबारको दिन नेप्सेमा वृद्धि भएको छ । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेको छ ।

नेम्सेमा एकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् । यता विकास बैंक वित्त कम्पनी लगायतका उपसूचकमा भने बृद्धि भएको छ । वित्त कम्पनी उपसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ ।


तर मंगलबारको तुलनामा कारोबार रकम भने घटेको छ । मंगलबार २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको बजारमा बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख र आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाखको कारोबार भएको छ ।

कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा ८६ कम्पनीको सेयरमूल्य बढेको छ । ८७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ सूचीकृत कम्पनीको सेयरमूल्य भने बढेन ।

प्रकाशित : 20 July, 2022

प्रतिक्रिया दिनुहोस्