धर्म सन्तानको नाम दिएर १ सय ४९ जना बालबालिका गैरकानुनी रुपमा विदेश पुर्याइयो

काठमाडौँ । साउन ६, नेपालबाट धर्म सन्तानको नाम दिएर नेपाली बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याएको तथ्यांक पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनले धर्म सन्तानका नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा नेपालवाट विभिन्न देशमा पुर्याइएको देखाएको छ ।

२०६७ सालमा तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री व्यवस्थापन समिति बनाएर १८ देशमा धर्मपुत्र/धर्मपुत्री पठाउन सक्ने व्यवस्था गरेको थियो । तर मुलुकी देवानी संहिता २०७४ लागू भइसकेपछि विदेशी नागरिकले नेपाली बालबालिकालाई धर्मपुत्र/पुत्रीको रुपमा ग्रहण गर्न नसक्ने व्यवस्था गरिसकेको छ । तर पनि यसरी गैरकानुनी रुपमा नेपालवाट विभिन्न देशमा बालबालिका लैजान भने रोकिएको छैन ।
सरकारसँग २०६७ देखि २०७४ सालको बीचमा अमेरिका, फ्रान्स, डेनमार्क, नर्वे, क्यानडा, स्वीट्जरल्यान्ड र बेल्जियममा गरी २४ जना बालबालिका मात्रै धर्म सन्तानको रुपमा विदेश गएको अभिलेख रहेको छ । यसरी हेर्दा सरकारको अभिलेखमा रहेका २४ जनाबाहेक १ सय ४९ जना बालबालिकाको अभिलेख नराखि धर्म सन्तान बनाएर गैरकानुनी रुपमा विदेश पुर्याएको महालेखाले जनाएको छ । मन्त्रालयले ११ देशमा धर्म सन्तानको रुपमा लगेका बालबालिकाको तथ्याङ्कसमेत राखेको छैन ।
धर्मपुत्र/पुत्रीको तथ्याङ्क अभिलेखाङ्कन गर्न सरकारले आर्थिक वर्ष २०७७/७८ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त खर्च सो परियोजनका लागि खर्च नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।